Powered by Blogger.

Thursday, April 9, 2015

विश्वलाई चकित पार्दै छन् अदभुत नेपालि बालक आदित्यले

चिरञ्जीवी पौडेल-नया पत्रिका
यो कुनै दन्त्यकथा होइन । एक अलौकिक बालकको सत्यकथा हो, जसलाई आफ्नै आँखाले नदेख्दासम्म पत्याउन मुस्किल पर्छ । चार वर्ष आठ महिनाको अबोध बालकसित संसारका अनेक जटिल प्रश्नहरूको उत्तर छ । बोल्न र हिँड्डुल गर्न नसक्ने, कहिल्यै विद्यालय नगएको यो शिशु बसी–बसी तपाईंका हरेक प्रश्नको जवाफ कलमले लेखेर दिन्छ । भूत, भविष्य वा वर्तमान, सबै कुरा उसको कलिलो मस्तिष्कमा अटेको छ ।  ०००
............................................ ………… …………… (श्रोत : नया पत्रिकाबाट जस्ताको तस्तै )
घरको पेटीमा जुत्ता–चप्पलको ताँती छ । भक्तिगानको कर्णप्रिय ध्वनि हार्मोनियमको धुनसँगै मिसिएर हावामा तैरिँदै हाम्रो कानसम्म आइपुग्यो । घरको भुइँतलाभित्र पस्नुअघि ढोकाछेउमा टाँगिएको सूचनामा आँखा गयो । तल ‘आदित्य संरक्षण प्रतिष्ठान’को नामबाट जारी सूचनाको एक नम्बरमा ‘बालज्ञानी गुरुलाई टाढैबाट नमस्कार मात्र गरिदिन’ अनुरोध थियो ।
भित्र खुट्टा टेक्ने ठाउँ थिएन । प्यासेजधरि खचाखच थियो । बैठक कोठाभित्र भुइँमा पलेँटी कसेर कीर्तन गाउनेमा धेरै महिला थिए । कुनाको सोफामा सयपत्रीको माला लगाएका हँसिला बालक देखिए, बाल्यकालका श्रीकृष्णजस्ता । छेउमै बसेकी थिइन् उनकी आमा, जो वेला–वेला छोरोको मुखबाट निस्कने र्‍याल रुमालले पुछिदिन्छिन् । बालक पलेँटी आसनमा थिए, कुनै सन्तको मुद्रामा । शान्त र अविचल । टाउको थिग्रयाउन नसकेर निहुरिएको छ । वेला–वेलामा निकै घत परेझैँ गरी यसरी मुस्काइदिन्छन्, मानौँ उनको यही मुस्कानमा सारा ब्रह्माण्डको रहस्य लुकेको छ । उनको उमेरजन्य चञ्चलताको कुनै निशान त्यहाँ भेटिएन ।
करिब पौने दुई घन्टा चल्यो भजन–कीर्तन । यसबीचमा बालकलाई एकपटक शौचालय लगियो । बाँकी पूरै समय उनी एकाग्र भएर धार्मिक भावमा लीन थिए । यति सानो बालकको यस्तो धैर्यता देखेर म चकित पर्दै छु । तर, योभन्दा चकित पर्ने ठूला विषय त अरू नै छन् ।
कीर्तन सकिएपछि एक महिलाले घोषणा गरिन्, ‘अब बालज्ञानी गुरु आदित्यले हामीलाई सन्देश दिनुहुनेछ ।’ बालकलाई आमाले सोफाबाट ओरालेर काखमा लिइन् । कसैले एउटा डायरी र कलम उनलाई दियो । बालकले कलम आफ्नो चोरी औँला र माझी औँलाको बीचमा च्यापे । आमाले डायरी खोलेर आफ्नो हातमा राखिन् । बालकले करिब दुई मिनेट लगाएर डायरीमा कलम चलाए । अनि गौरवको मुद्रामा सबैतिर फर्केर उही ‘ब्रह्माण्डवाला’ मुस्कान छोडे ।
‘नकारात्मक सोचलाई त्यागेर सकारात्मक सोच नराखेसम्म वार्ताको प्रक्रियाबाट दिगो शान्ति आउन सक्दैन ।’आदित्यले लेखेको वाक्य पढ्दै उद्घोषकले सुनाए । सबैले ताली बजाए । मैले मनमनै उनलाई नमस्कार गरेँ ।
फर्कने वेला मैले नयाँ पत्रिकालाई एउटा सन्देश लेखिदिन आदित्यलाई आग्रह गरेँ । आमाको काखमा बसेर उनले सुस्तरी लेखे : नयाँ पत्रिका सधैँ प्रगतिको मार्गमा अघि बढोस् ।
father
हेर्दा साधारण बालकझैँ देखिन्छन्, तर साधारण छैनन् आदित्य । न शारीरिक रूपमा, न मानसिक रूपमा । अरू बालकझैँ आमाको काखमा खेल्छन् । पटमा आची गर्छन् । रिसाउँछन्, रुन्छन्, झगडा गर्छन् । खुसी हुन्छन्, हाँस्छन् । तर पनि, आम बच्चाहरूभन्दा उनी असाधारण रूपले भिन्न छन् ।
शारीरिक रूपमा आफ्नो उमेरका बालबालिकाभन्दा सयौँ गुणा कमजोर छन्, अशक्त छन् । मानसिक रूपमा अरूभन्दा लाखौँ गुणा विलक्षण छन्, अद्भुत छन् । अहिलेसम्म न उनको शारीरिक अशक्तताको कारण पहिचान हुन सकेको छ, न मानसिक विलक्षणताको कुनै वैज्ञानिक व्याख्या । दैवीशक्तिमा विश्वास नगर्नेका लागि एक विशाल प्रश्नवाचक चिह्न हुन् आदित्य ।
०००
झापाबाट करिब १० वर्षअघि काठमाडौं झरेका थिए शेषराज दाहाल । नागरिक उड्डयनमा जागिर खाने उनले ०६४ सालमा ईश्वरा गुरागाईंसित घरजम गरे । बिहे गरेको तीन वर्षपछि ०६७ साउन ७ गते उनीहरूको पहिलो सन्तान जन्मियो, जसलाई उनीहरूले आदित्य नाम दिए । जन्मँदा साढे तीन केजीका आदित्य पूर्ण रूपमा स्वस्थ थिए ।
३३ महिनासम्म आदित्य आम शिशुजस्तै स्वस्थ अवस्थामा हुर्किए । हाँस्ने, बोल्ने, हिँड्डुल गर्ने सबै गर्थे । तर, एकाएक शारीरिक गतिविधिमा सुस्तता देखिन थाल्यो । उनका खुट्टा लुला हुँदै गए । हिँड्न र क्रमश: उभिन पनि छाडे । बस्नलाई पनि अरूको सहारा चाहिने भयो । टाउको ठाडो राख्न नसक्ने भए । हात चलाउन पनि कठिन हुन थाल्यो । अनि क्रमश: बोली पनि हराएर गयो । केवल मुस्कान बाँकी रह्यो ।
त्यसपछि सुरु भयो, दाहाल दम्पतीको अस्पताल चहार्ने सिलसिला । देशमा कहलिएका न्युरो सर्जनदेखि बालरोग विशेषज्ञ तथा मनोरोग विशेषज्ञसम्म कसैलाई नछुटाई उनीहरूले छोरोको स्वास्थ्य परीक्षण गराए । तर, उपचार त परै जाओस्, रोगसमेत पत्ता लागेन । भारतको गंगाराम हस्पिटल लगेर पनि परीक्षण गराए । त्यहाँ पनि रोग पहिचान हुन सकेन । यस्तैमा, एक दिन आदित्यको जिन्दगीमा नयाँ मोड आयो ।
mom
त्यो दिन…
आदित्यका आमा र बुबा दुवै सरकारी जागिरे हुन् । बुबा नागरिक उड्डयन कार्यालयमा र आमा अर्थ मन्त्रालयमा काम गर्छिन् । ईश्वराकी भदै (दाइकी छोरी) सुष्मा पढाइको सिलसिलामा उनीहरूसितै बस्दै आएकी छिन् । दिनभरि आदित्य उनकै रेखदेखमा हुन्छन् ।
गत असार २० गतेको घटना सुष्मा यसरी सुनाउँछिन् : त्यतिवेला मेरो परीक्षा चलिरहेको थियो । दिउँसो करिब तीन बजेको थियो होला । म पढिरहेकी थिएँ । बाबु ओछ्यानमा पल्टिरहेको थियो । मैले लेखिरहेका वेला उसले इशारा गरेर कपी र कलम माग्यो । केही लेख्न चाहेजस्तो गर्‍यो । मैले पनि कोरोस् न त भनेर दिएँ ।
उसले देब्रे हातको दुई औँलाले कलम समात्यो । अनि कपीमा अ आ इ ई लेख्न थाल्यो । त्यतिवेलासम्म बाबुलाई कसैले पनि अक्षर सिकाएको थिएन । बिमारीका कारणले न स्कुल गएको थियो, न घरमा कसैले पढाउने प्रयास गरेको थियो । उसले एकैचोटि अ आ इ ई लेखेर देखाएपछि म छक्क परेँ । अ आ पछि उसले क का कि की लेख्न थाल्यो । मामा, बाबा, दादा, दिदी लेख्यो । आफ्नो नाम पनि लेख्यो । म हेरेको हेर्‍यै भएँ । होस–हवास नै उडेझैँ भयो । अत्तालिँदै दिदीलाई फोन लगाएँ । भाइले जे पनि लेख्न थाल्यो भन्दा उहाँले सुरुमा त पत्याउनुभएन । पछि हतार–हतार घर आउनुभयो । भिनाजुलाई पनि फोन गरेँ । उहाँले त झन् पत्याउँदै पत्याउनुभएन । जे पायो त्यही कोर्‍यो होला भनेर फोन राखिदिनुभयो । अफिस सकेर घर आएपछि आफ्नै आँखाले हेरेर मात्र उहाँ कन्भिन्स हुनुभयो ।’
त्यो दिन दाहाल परिवारमा ठूलै खलबली उत्पन्न भएको थियो । आश्चर्य र त्राशमिश्रत रौनक थियो घरमा । थुप्रै आफन्त जम्मा भए । आदित्यका मामा शम्भु गुरागाईं भन्छन्, ‘भान्जाले जे सोध्यो त्यही लेखेको देख्दा म त भाउन्न भएर ढलेँ । १५ मिनेटजति बेहोसजस्तै भएँ ।’
आदित्यको यस्तो अद्भुत क्षमता एक कान, दुई कान मैदान हुँदै फैलियो । आफन्त, छरछिमेकी हुँदै सञ्चारमाध्यमहरू पनि उनको घरमा धाउन थाले । साँघुरो ठाउँले गर्दा मान्छेको भीड व्यवस्थित गर्न नसकेरै दाहाल दम्पती अर्को घरमा डेरा सरे । आदित्यको समाचार टेलिभिजनमा आएपछि त झन् यो दम्पतीको दिनचर्या नै प्रभावित भयो । फोन उठाएर साध्य नै हुन छाड्यो । आदित्यका बाबुआमादेखि आफन्तसम्मले फोन नम्बर परिवर्तन गर्नुपर्‍यो ।
चिन्ता उपचारको, अमेरिका लैजाने तयारी
आदित्यको असाधारण मानसिक क्षमताले बाबुआमा जति खुसी छन्, त्योभन्दा धेरै उनको शारीरिक अशक्तताले दु:खी छन् । दुवै एकै स्वरमा भन्छन्, ‘हाम्रो यत्ति इच्छा छ, छोरा ठीक होस्, अरूका छोराछोरीजस्तै बोल्ने र हिँड्डुल गर्ने होस् । शक्ति नभए पनि हुन्छ ।’ स्वस्थ शरीरका साथ शक्ति पनि यथावत् रहेमा सुनमा सुगन्ध हुने दुवैको भनाइ छ ।
आदित्य स्वयं पनि आफ्नो स्वास्थ्य अवस्थाप्रति चिन्तित रहेको उनका अभिव्यक्तिमा देखिन्छ । आफूलाई भेट्न आएका स्वास्थ्यमन्त्री खगराज अधिकारीसित उनले अंग्रेजीमा सोधेका थिए, ‘क्यान यु मेक मि फिट ?’ आमा ईश्वराका अनुसार उनी आफ्नो बिरामीको उपचार होस् भन्ने चाहन्छन् । ‘तिमीलाई ठीक हुन्छ भनेपछि जस्तोसुकै तितो औषधि पनि खाइदिन्छ,’ उनी भन्छिन् । उनले डाक्टरहरूलाई भन्ने गरेका छन्, ‘मेरो शरीरको उपचार गर्नुस्, तर मस्तिष्कमा असर नपरोस् ।’
मुख्यसचिव लीलामणि पौडेलको पहलमा सरकारले आदित्यलाई विदेशमा उपचारका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ । त्यसैको बलमा उनलाई उपचारका लागि अमेरिका लैजाने तयारी गरिएको छ । ‘तिमीलाई कहाँ लगेर उपचार गर्दा ठीक हुन्छ ?’ भनेर प्रश्न गर्दा उनले अमेरिकाको क्यालिफोर्नियास्थित स्टेनफोर्ड युनिभर्सिटी हस्पिटलमा लैजान आग्रह गरेका थिए । सो हस्पिटल अमेरिकाकै ठूलो र महँगोमध्येको हस्पिटलमा पर्छ । उनलाई अमेरिका लैजान प्रतिष्ठानले भिसा प्रक्रिया अघि बढाइएको छ । तर, सरकारले दिएको पैसा अमेरिकाको महँगो अस्पतालमा उपचार गर्न पर्याप्त नहुने भएकाले आदित्यका बाबुआमा चिन्तामा छन् । बाबु भन्छन्, ‘सरकारले गरेको सहयोगबाट हामी खुसी छौँ । तर, यति पैसाले मात्रै उपचार सम्भव छैन । थप सहयोग जुट्ने आशामा छौँ ।’ भेट्न आउनेसित भेटी लिन आदित्यले अस्वीकार गरेकाले खासै अर्थ संकलन हुन सकेको छैन । उनको नाममा एसबिआई बैंकमा खाता खोलिएको छ । आफ्नो उपचारका लागि कसैले अन्तरमनले सहयोग गर्न चाहेमा सोही खातामा पैसा जम्मा गर्न उनले अनुरोध गरेका छन् । बैंकको खाता नम्बर 20525240200231 हो ।
तिमी कहिलेदेखि हिँड्न थाल्छौ भनेर सोधिएको प्रश्नमा आदित्यले २०७३/०३/३१ गतेको मिति उल्लेख गरेका छन् । उनले आफ्नो शारीरिक उपचारका लागि अनुमति दिए पनि त्यसबाट आफ्नो दिमागमा असर नपुगोस् भन्ने आशय पटक–पटक व्यक्त गर्ने गरेका छन् । ‘मेरो उपचार गर्नुहोस्, तर मेरो ज्ञानलाई असर नपुग्ने गरी’ उनले डाक्टरलाई लेखेका थिए ।
बालसुलभ गुण
1
आदित्यमा बालसुलभ गुणहरू पनि प्रशस्त छन् । उनी केही मात्रामा जिद्दी स्वभावका छन् । आफूले भनेको कुरा भएन भने खुबै रिसाउँछन् । रिसाएका वेला चिच्याउने, रुने गर्छन् ।
उनलाई बाहिर घुम्न खुबै मन पर्छ । यो पंक्तिकार दोस्रोपटक उनको घर पुग्दा आदित्यलाई आमाले आफन्तकहाँ लैजान आँटेकी थिइन् । हामी पुगेपछि केही बेर रोकिन खोज्दा आदित्य च्याँ… च्याँ रुन थाले । आमा ईश्वरा भन्छिन्, ‘घरबाट निस्किन पाउँदा साह्रै खुसी हुन्छ । हामी दुवैजना अफिस जानुपर्ने भएकाले घरमा दिनभरि बस्दा झ्याउ लाग्दो हो ।’
नयाँ लुगा लगाइदिँदा दंग पर्छन् । उनी फोहोरी बस्न मन पराउँदैनन् । खेलौनाहरू खेल्न खोज्छन्, तर सक्दैनन् । अरू बच्चाहरूसित रमाउँछन् । टिभीमा कार्टुन खुबै हेर्छन् । कहिलेकाहीँ समाचारमा नकारात्मक किसिमका घटना वा पात्रहरू आए उनको अनुहारमा क्रोध देखिने मामा शम्भु बताउँछन् ।
राम र सरस्वतीका भक्त
धेरैजनाले उनलाई सोधेका छन्, बाबु तिमीलाई कस्को शक्ति प्राप्त भएको हो ? आदित्यले दिने जवाफ एउटै–एउटै हुन्छ, सरस्वती माताको । उनकै आग्रहमा जयबागेश्वरी मन्दिरमा दैनिक पूजा गर्ने गरिएको छ । मन्दिरमा जाँदा आदित्य निकै प्रसन्न हुन्छन् । उनी आफूलाई रामका भक्त पनि बताउँछन् ।
लेख्नै सकस
आदित्यको महाशक्ति भनेकै कपीमा लेखेर आफ्नो भावना अभिव्यक्ति गर्नु हो । तर, शारीरिक अशक्तताले गर्दा उनको लेखाइ निकै कष्टप्रद देखिन्छ । अरूले सहारा दिएर मात्र लेख्न सक्छन् । लेख्दा शरीर नै कक्रक्क पर्छ ।
‘सुरु–सुरुमा जो आए पनि केही न केही सोधिहाल्थे, हामीले पनि कसैलाई रोकटोक गरेनौँ’ बाबु भन्छन्, ‘तर बिस्तारै ऊ झन्–झन् गल्दै गयो । लेख्दा निकै गाह्रो परेको महसुस भयो । त्यसैले अचेल लेख्ने काम कम गराएका छौँ ।’
खानपिन सात्विक
आदित्य माछामासु खाँदैनन् । माछामासुको कुरा गरेको पनि मन पराउँदैनन् । त्यसो त उनका बाबुआमाले पनि अहिले माछामासु खान छोडेका छन् । उनी साह्रो चिज खान सक्दैनन् । दूधको आइटम बढी मन पराउँछन् । जुस, फलफूल दालभात सबैथोक खान्छन् । आफैँ खान सक्दैनन् । अरूले खुवाइदिनुपर्छ । कहिलेकाहीँ भने लगातार केही दिनसम्म बिहान खाना खाँदैनन् । त्यस्तो वेला बेलुकी घाम डुबेपछि खाने गरेको ईश्वरा बताउँछिन् ।
कैयौँ रात सुत्दैनन्
सुरुदेखि नै आदित्यको निद्रा अनियमित थियो । अद्भुत शक्ति प्राप्त हुनुभन्दा अगाडि लगातार २७ रात र दिनसम्म नसुतेको आमा ईश्वरा बताउँछिन् । ‘कैयौँ रात नसुत्दा पनि ऊ फ्रेस नै हुन्छ, अनिद्राको कुनै संकेत देखिँदैन,’ उनी भन्छिन् । अहिले पनि वेलाबखत पाँच–सात रात जागा बसिदिन्छन् । राति नसुतेको वेला दिनमा पनि सुत्दैनन् ।
सुरक्षाको चिन्ता
आदित्यको बढ्दो ख्यातिसँगै उनको सुरक्षाको चिन्ता थपिएको छ । बाबुआमा दुवै जागिरे भएकाले दिनभरि घरमा हँुदैनन् । दिनभरि उनलाई मामाकी छोरी सुष्मा एक्लैले रेखदेख गर्छिन् । प्रत्येक दिन आदित्यलाई हेर्न मानिसहरू आइरहन्छन् । घरमा बाबुआमा नभएको वेला अपरिचितलाई प्रवेश नदिन सुष्मालाई भनिएको छ । बाहिरफेर लैजाँदा पनि उनलाई भीडबाट जोगाउन बाबुआमालाई धौ–धौ पर्छ ।
के–के लेखे ?
art
सुरुमा उनको ज्ञान परीक्षण गर्न धेरैले सामान्य ज्ञानका प्रश्नहरू सोध्थे । नेपालका पहिलो प्रधानमन्त्री को हुन् भन्नेदेखि फाउन्टेन पेनको आविष्कार कसले गरे भन्नेसम्मका प्रश्नको सही जवाफ उनले दिँदै गए । इतिहासदेखि भूगोलसम्म, गणितदेखि विज्ञानसम्म, धार्मिक ग्रन्थदेखि चलचित्रसम्म जे विषयमा सोधिए पनि आदित्यले चामत्कारिक ढंगले सही जवाफ दिँदै गए । वेद, उपनिषद्का श्लोकहरू पनि लेख्न भ्याए ।
नेपाली र अंग्रेजी मात्रै होइन, चाइनिज, कोरियन, रसियनलगायत लिपिमा पनि लेखेर उनले प्रमाणित गरिदिए कि दुनियाँका कुनै पनि चिज उनको कलिलो मस्तिष्कभन्दा बाहिर छैनन् । आफूलाई भेट्न आउनेहरू को हुन्, उनलाई पहिल्यै थाहा हुन्छ । एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल भेट्न जाँदा उनकी आमाको नाम लेख्न लगाइयो । आदित्यले ‘मधुमाता’ लेखिदिएपछि खनाल चरम आश्चर्यभावसहित मुस्कुराए । मुख्यसचिव लीलामणि पोडेल भेट्न जाँदा आदित्यले लेखे, ‘बागमतीमा सफाइ होइन, फोहोर फाल्न बन्द गरौँ ।’ पूर्वमुख्यसचिव माधव घिमिरे पुग्नासाथ आदित्यले कागज मागेर लेखे, ‘माधव सर नमस्कार †’ तिनै घिमिरेले आदित्यसित लिखित प्रश्न सोधे, ‘अब मैले के गर्दा राम्रो हुन्छ ?’ आदित्यको जवाफ यस्तो थियो, ‘ध्यान गर्नुस्, बाटो आफैँ भेट्नुहुनेछ ।’
स्वास्थ्य परीक्षणका लागि वीर हस्पिटल लैजाँदा उनले अंग्रेजीमा लेखिदिए, वीर हस्पिटल इज डर्टी प्लिज मेन्टेन इट सिरियसली । सहरी विकासका सचिव डा. अर्जुन कार्की आउनासाथ उनले लेखे, ‘अर्जुन सर, सहर सफा राखौँ ।
कहिलेकाहीँ आदित्यले दिने जवाफ कूटनीतिक र घुमाउरा पनि हुन्छन् । नेपाल हिन्दू राष्ट्र हुन्छ कि हुँदैन ? भनेर सोधिएको प्रश्नमा उनले जवाफ दिएका छन्, ‘जनमतसंग्रह गरौँ ।’ नेपालमा लोडसेडिङ कहिले अन्त्य हुन्छ भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘नेताहरू बोल्छन् मात्रै काम गर्दैनन् ।’ तिमी यो संसारमा आउनुको कारण के हो भनेर प्रश्न गर्दा उनले लेखे, ‘नट नाउ, पछि कुरा गरौँला ल †’ नेपालमा नयाँ संविधान कहिले बन्छ भन्ने प्रश्नमा उनको जवाफ छ, ‘नेताहरूको झगडा मिलेपछि २०७२ भित्र ।’ सुशील कोइरालापछि नेपालको प्रधानमन्त्री को होला भन्ने प्रश्नमा उनले केपी ओलीको नाम लेखिदिएका थिए ।
उनको ज्ञान परीक्षण गर्ने आशयले कसैले डा. बाबुराम भट्टराई र हिसिला यमीको बिहे कहिले भएको हो भनेर सोध्दा उनले जवाफ दिए, ‘भो, आज लेख्दिनँ ।’ आफ्नोबारेमा पनि आदित्यले लेख्ने गरेका छन् । एक प्रश्नमा उनले आफू १२ वर्षको भएपछि विश्वले आफूलाई चिन्ने उद्घोष गरेका थिए । उनका सन्देशहरू कहिलेकाहीँ निकै साहित्यिक पनि हुन्छन् । गत शुक्रबार सत्संगपछि उनले लेखेको सन्देश यस्तो थियो– प्रेम यस्तो अमृत हो, जसले मृत्युको आवरणभित्र अनावरण भएको जीवन फर्काउन सक्छ ।
म उहाँको पहिलो शिष्य
lp
लक्ष्मी प्रसार्इं, समाजसेवी
सगरमाथा टेलिभिजनमा आदित्यबारे अविश्वसनीय रिपोर्ट हेर्नासाथै म उहाँलाई भेट्न आतुर भएँ । त्यसको दुई–तीन दिनमा म उहाँको घर पुगिसकेको थिएँ । पहिलो भेटबाटै आदित्यलाई आफ्नो गुरु बनाउने इच्छा जागृत भयो । हो, म ४६ वर्षको व्यक्ति साढे तीन वर्षको शिशुलाई गुरु मान्न इच्छुक भएँ ।
म उहाँको घरमा बाक्लै जान थालेँ । पहिलो भेटमा मैले उहाँलाई केही सोधेको थिइनँ । दोस्रो भेटमा उहाँले मेरो जन्ममिति लेखिदिनुभयो । त्यसपछि प्रत्येक भेटमा म उहाँको अद्भुत क्षमताको साक्षी बन्दै गएँ । अन्तत: उहाँ पनि मलाई शिष्य बनाउन राजी हुनुभयो । उहाँले आफ्नो पहिलो शिष्यका रूपमा मलाई गुरुदीक्षा दिनुभयो । गुरुमन्त्र सुनाउनुभयो ।
त्यतिवेला गुरुको स्वास्थ्य अवस्था अहिलेजत्तिको पनि थिएन । भेट्न आउनेहरू सबैजना उहाँलाई केही न केही लेखाउन इच्छुक हुन्थे । त्यसले गर्दा पनि झन् बढी थकित र कमजोर बन्नुभएको थियो । कम्तीमा भेट्न आउने मानिसको व्यवस्थापन गर्नु अति जरुरी देखियो । मैले उहाँका बुबासित उहाँको नाममा संस्था खोल्ने सल्लाह गरेँ । यो कुरा उहाँसमक्ष टक्र्याएँ । उहाँले एक महिनापछि बल्ल स्वीकृति दिनुभयो । संस्था दर्ता गर्नका लागि गुरुले मंसिर २९ गतेको मिति तोकिदिनुभयो । त्यति मात्रै होइन, संस्थाका ११ जना पदाधिकारीको नामसमेत आफैँले सिफारिस गर्नुभयो । त्यसमा आफ्ना बुबालाई अध्यक्ष र मलाई उपाध्यक्षमा प्रस्ताव गर्नुभएको थियो । उहाँले सिफारिस गरेका केही नामहरू त हामी कसैले नचिनेका थिए । तर, बिस्तारै कता–कताबाट सबैजना सम्पर्कमा आए र समिति पूर्ण भयो ।
संस्थाका लागि उहाँको स्वीकृति लिएपछि मैले आफैँ विधानको मस्यौदा तयार गरेँ । मैले जानाजान अलिकति अपूर्ण र गोलमटोल किसिमले विधान लेखेको थिएँ । म त्यो देखाएर उहाँको ‘फिडब्याक’ जान्न चाहन्थेँ । केही पदाधिकारीको नामसमेत उहाँले सिफारिस गरेको भन्दा फरक गरेर उहाँलाई पेस गरेँ ।
मैले बनाएको विधान उहाँले सरसर्ती हेर्नुभयो । त्यसमा धेरै सम्पादन गर्नुभयो । संस्थाको नाम नै परिवर्तन गर्नुभयो । मैले आदित्यश्री फाउन्डेसन राखेकोमा गुरुले सच्याएर आदित्य संरक्षण प्रतिष्ठान राख्नुभयो । प्रस्तावनामा पनि दुई–तीन कुरा काटेर मिलाउनुभयो । पदाधिकारी र सदस्यको नाम हेरेर मसित रिसाउनुभयो । मैले फेरेका नामहरू काटेर सुरुमा आफैँले सिफारिस गरेका नामहरू राख्नुभयो । म अवाक् बनेँ ।
संस्थाको उद्देश्यमा उहाँले ‘तत्काल आफू स्वस्थ नभएसम्म संस्थामा जम्मा भएको पैसा उपचारका लागि खर्च गर्ने, स्वस्थ भएपछि जनहितमा खर्च गर्ने’ भन्ने वाक्य थप्नुभयो । उहाँलाई मैले संस्थाको प्रमुख सल्लाहकारका रूपमा राखेको थिएँ । उहाँले त्यसलाई काटेर आफूलाई संरक्षकको भूमिकामा राख्नुभयो ।
त्यसपछि मैले सबै करेक्सनसहित फेरि टाइप गरेर उहाँलाई देखाएँ । यसपालि केही गडबड गर्ने हिम्मत गरिनँ । त्यसमा उहाँले दुईवटा शब्द मात्र परिवर्तन गर्नुभयो । सबै कुरा चित्त बुझाएपछि माइन्युटमा सही गर्नुभयो । हामी २८ गते जिल्ला प्रशासन कार्यालय गयौँ । उहाँले भनेकै मितिमा २९ गते नै संस्था दर्ता भयो ।
हामीले संस्थाको खाता नबिल बैंकमा खोल्न चाहेका थियौँ । चाबहिलमा बैंकको शाखा भएकाले नजिकै हुन्थ्यो । तर, गुरुले मान्नुभएन । उहाँकै निर्देशनमा एसबिआई बैंकमा खाता खोल्यौँ । उहाँकै इच्छामुताबिक हामीले हरेक साता निवासमै भजन–कीर्तन आयोजना गर्दै आएका छौँ । यसको बार र समय पनि उहाँले नै निर्धारण गरिदिनुभएको हो । उहाँ भजन र संगीत भनेपछि हुरुक्क हुनुभएको देखिन्छ ।
गुरुकै निर्देशनअनुसार प्रतिष्ठानको बैठक महिनामा दुईपटक बस्ने गरेको छ । बैठकको एजेन्डा पनि उहाँले नै दिनुहुन्छ । एक–डेढ घन्टा बस्ने बैठकमा गुरु पूरै लगाबका साथ सहभागी बन्नुहुन्छ । बैठकको बीचमा कहिल्यै उठेर हिँड्नुहुन्न । बैठकमा कसैले बोलेको कुरा चित्त नबुझे तत्काल कपीमा लेखेर ‘अब्जेक्सन’ जनाउनुहुन्छ ।
उहाँलाई बैठक तथा औपचारिक सभाहरूमा के नामले बोलाउँदा ठीक हुन्छ भनेर मैले एक दिन प्रश्न राखेको थिएँ । उहाँले ‘बालज्ञानी गुरु’को सम्बोधन गर्नु भन्नुभयो । त्यसैले हामी सबै उहाँलाई यही नामबाट पुकार्छौँ ।
नेपालमा सम्भव छैन
डा. विना प्रजापति, बालरोग विशेषज्ञ, कान्ति अस्पताल
आदित्यलाई उनका बुबाआमाले करिब एक वर्षअगाडि कान्ति अस्पताल ल्याउनुभएको थियो । त्यतिवेला मैले भेट्दा उनी हिँड्न नसक्ने अवस्थामा थिए । तलका अंगबाट सुरु भएर बिस्तारै माथिका अंगहरू पनि नचल्ने भएका रहेछन् । त्यतिवेला बोली केही मात्रामा थियो । बच्चाको एमआरआईलगायत सबै रिपोर्टहरू नर्मल थिए । हामीले उनको रोग पहिचान गर्न सकेनौँ ।
यसबीचमा म अध्ययनका लागि इन्डिया गएँ । केही समयअघि फर्केर आएपछि फेरि आदित्यलाई मकहाँ ल्याइयो । उनको अवस्थामा कुनै सुधार थिएन । मैले आफ्नो करिअरमा यस्तो केस पहिलोपटक सामना गरेकी हुँ । अहिले उनको थेरापी चलिरहेको छ । रोग पत्ता नलागेकाले कुनै औषधि चलाएको छैन ।
बच्चाको शारीरिक अशक्ततासँगै ‘सुपरनेचुरल पावर’ पनि देखिएको छ । यो हाम्रा लागि मात्र नभएर विश्वकै मेडिकल साइन्सका लागि अध्ययनको विषय हो । मैले यसको कुनै व्याख्या गर्न सक्दिनँ । बच्चालाई म आफैँले तिमीलाई कहाँ लग्यो भने ठीक हुन्छौ भनेर सोध्दा अमेरिका भनेका थिएँ । अहिले अमेरिकामा लैजाने तयारी पनि भइरहेको छ । हामीले सम्भावित तीनवटा रोगहरूको विश्लेषण गरेका छौँ । तीमध्ये सबैभन्दा बढी सम्भावना ‘डोपा रेस्पोन्सिभ डिस्टेनिया’को देखिन्छ । यदि यो रोग लागेको रहेछ भने अमेरिकामा पहिचान हुन सक्छ । र, धेरै हदसम्म उपचार पनि हुन सक्छ । तर, नेपालमा सम्भव छैन । बच्चाका लक्षणहरू हेर्दा डोपा रेस्पोन्सिभ डिस्टेनियासँग मिल्दोजुल्दो पनि देखिन्छ ।
अहिले बच्चाको फिजियोथेरापी भइरहेको छ । बुबाआमाले नियमित रूपमा थेरापीका लागि कान्ति अस्पताल ल्याउनुहुन्छ । बच्चाकी आमाले थेरापीबाट अलि–अलि सुधार आएको महसुस गर्नुभएको छ, तर उल्लेख्य छैन । बच्चा आफैँले ०७२ साल असारमा ठीक हुन्छु भनेर लेखेका रहेछन् । कामना गर्छु, उनले भनेको पूरा होस् ।
आदित्यका केही सन्देश
रंगभन्दा पनि रंगीन छ हाम्रो वास्तविक संसार । यसलाई मनन गरी खुसीका साथ मनाऔँ होली । (होलीको दिन)
व्यवहारमा पनि लागू गराई सर्वश्रेष्ठ मानवचोला दिलाउने माताको मातृत्वको मूल्य चुकाउन कहिल्यै आफ्ना पाइला नडगमगाऊ । (नारी दिवस)
नकारात्मक सोच त्यागी सकारात्मक सोच अनुसरण नगरेसम्म वार्ता वा प्रक्रियाबाट मात्र देशमा दिगो शान्ति जन्मँदैन ।
लोभ र मोह त्याग । मेरो होइन, हाम्रो भन । प्राप्तिमा होइन, कर्ममा विश्वास गर, दया र धर्म नछोड । अरूको सेवामा आफूलाई समर्पित गर ।
देशको विडम्बना स्रोत र साधनको अभावमा मूकदर्शक बनेको राज्यको लाचारपन देख्दा मन रुन्छ नेपालीको, यात्रुलाई पर्न गएको असहजताप्रति मेरो सहानुभूति ।
आधुनिकताको भीडमा संस्कार र सभ्यता भुली आफ्नो अस्मिता आफैँ नलुटाऔँ ।
जीवन तब अमूल्य लाग्नेछ, जब तिमी अहंकार भुली अरूका लागि जिएको आभास गर्नेछौ ।
गाँस, बास र कपासबाट वञ्चित बालबालिकाको हकअधिकार सुनिश्चित गरी व्यावहारिक कार्यान्वयन गरे राष्ट्र नयाँ पिँढीका साथ परिवर्तनतिर उन्मुख बन्न सक्छ ।
अज्ञानताको भाइरलले अशान्ति फैलिएका वेला ज्ञानको भ्याक्सिन लगाई शान्तिको विगुल फुकौँ ।शिवकी पार्वतीलाई मात्र होइन, शिरकी गंगारूपी बागमतीलाई पनि पुजिन लायक बनाऔँ ।
प्रेम यस्तो अमृत हो, जसले मृत्युको आवरणभित्र अनावरण भएको जीवन फर्काउन सक्छ । so love is life. 
लेखकको भनाइ
chiran dai foto
आदित्यलाई भेटेर आएदेखि लगातार सोचमग्न छु । उनको यो असाधारण क्षमताको रहस्य के होला ? यो शक्ति भविष्यमा कायम रहला कि नरहला ? उनको शारीरिक अवस्थामा सुधार आउन सम्भव छ कि छैन ? के उनको शारीरिक अशक्तता र मानसिक विलक्षणताबीच कुनै सम्बन्ध छ ? यस्ता यावत् प्रश्नहरू मस्तिष्कमा घुमिरहेका छन् ।
यदि आदित्यको अलौकिक शक्ति कायम रहेको खण्डमा यो निश्चित छ, उनी भविष्यमा विश्वब्रह्माण्डमै प्रख्यात हुनेछन् । उनले गरेका भविष्यवाणी मिल्न सक्लान् वा नसक्लान्, तर उनको बालमस्तिष्कमा ज्ञानको जुन महासागर छ, त्यसको व्याख्या आधुनिक विज्ञानले गर्न सक्दैन । गुगल व्बायको नामले सम्बोधन गर्नु त उनको अवमूल्यन हो ।
आदित्यलाई तिमी को हौ भनेर प्रश्न गर्दा उनी लेख्छन्, ‘मानिस हुँ ।’ तर, उनी सामान्य मानिस होइनन् । विश्वमै नेपाललाई चिनाउन सक्छ आदित्यको अद्भुत शक्तिले । त्यसैले उनको उपचार, व्यवस्थापन र संरक्षण सिंगो राज्यको दायित्व हो । सरकारले उपचारका लागि २५ लाख रुपैयाँ सहयोग गरेर कम्तीमा उनको असाधारण क्षमतालाई मान्यता दिएको छ । अब गैरसरकारी क्षेत्रबाट पनि सहयोगको पहल हुनुपर्छ । आदित्यको सम्पूर्ण जिम्मेवारी देश र समाजले लिनैपर्छ ।
स्वास्थ्यसँगै आदित्यको सुरक्षाको चुनौती थपिएको छ । बढ्दो प्रचार–प्रसारसँगै आदित्यलाई हेर्न आउने भीडबाट जोगाउन समस्या पर्दै गएको छ । त्यसैले यस निम्ति पनि सरकारी वा गैरसरकारी स्तरमा केही प्रबन्ध गरिनैपर्छ ।

0 comments:

Post a Comment

किशोर किशोरिका अनौठा समस्याहरु के के हुन त ?